जोडिनुहोस
  • होमपेज
  • अन्नपूर्णमा बेपत्ता भारतीय आरोहीको ४ दिनपछि जीवितै उद्धार

अन्नपूर्णमा बेपत्ता भारतीय आरोहीको ४ दिनपछि जीवितै उद्धार

म्याग्दी : म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधारशिविरबाट बेपत्ता भएका एकजना आरोहीको ४ दिनपछि जीवितै उद्धार गरिएको छ।

भारत राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बिहीबार बिहान अन्नपूर्ण हिमालको दोस्रो आधारशिविरमा भेटिएका हुन्। सोमबार बेपत्ता भएका मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान साढे १० बजे ७ हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए।

‘हेलिकप्टरले अन्नपूर्ण हिमालबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको छ,’ उनले भने। परिवारका सदस्यका अनुसार मालुको अवस्था गम्भीर छ।

मालु सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका थिए। आरोहण सफल नभएपछि आधारशिविर फर्कने क्रममा मालु बेपत्ता भएका थिए।

अन्नपूर्ण हिमालबाट यसअघि मङ्गलबार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि जीवितै उद्धार गरिएको थियो। काठमाडौं लगिएकी कौरको अवस्था सामान्य रहेको ट्रेकिङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ।

अन्नपूर्ण आरोहण गरेर फर्कंने क्रममा स्कटल्याण्डका आरोही नोयल हान्नाको मङ्गलबार मृत्यु भएको थियो। हान्ना सेभेन समिट ट्रेकबाट अन्नपूर्ण हिमाल आरोहणमा गएकी थिइन्।

८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङमा अवस्थित छ। अन्नपूर्णमा शनिबार यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो।

यस वर्ष अन्नपूर्ण आरोहणका लागि पर्यटन विभागबाट ५ वटा समूहका ४५ जनाले अनुमति लिएका थिए। बुधबारसम्म ३५ जनाले आरोहण गरिसकेका अन्नपूर्ण आधारशिविर पुगेर फर्किएका संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए।

अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो। विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए।

मौरिसले अन्नपूर्ण चढेको ३ वर्षपछि सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका