Tue Aug 9 2022
मुख्य खबर

काठमाडौं महानगरभित्रका विद्यालय आइतबारदेखि भौतिक रुपमा सञ्चालन हुने

काठमाडौं– काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरु आइतबारदेखि भौतिक रूपमा सञ्चालन गर्न पाइने भएको छ।

बुधबार सम्पन्न नगर शिक्षा समितिको बैठकले आइतबारदेखि विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले बताए।भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा महानगरले तयार पारेको २७ बुँदे मापदण्डको पूर्ण पालना गर्नुपर्ने सुवेदीकोे भनाइ छ।

अनलाइन कक्षा प्रभावकारी भएको विद्यालयले भने तत्काल भौतिक कक्षा सञ्चालन गर्नुनपर्ने उनको भनाइ छ। ‘भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा पहिले शिक्षक, अभिभावकसँग छलफल गरेर उहाँहरु सहमत भएमात्र विद्यालय सञ्चालन गर्नुपर्ने निर्णय भएको छ,’ सुवेदीले भने।

भौतिक कक्षा सञ्चालन गर्न चाहने विद्यालयले कक्षा सञ्चालनको कार्यविधि बनाएर शिक्षा महाशाखामा पेश गर्नुपर्ने समेत उनले बताए। भौतिक कक्षा सञ्चालन गर्ने विद्यालयको नियमित अनुगमन पनि हुने उनको भनाइ छ।