राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो
शुक्रबार, अशोज ८, २०७८

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सनदबाट पारित भएको विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सनदबाट पारित भएको विनियोजन विधेयक २०७८ संविधानको धारा ११३ को उपधारा २ अनुसार प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

विनियोजन विधेयक २०७८ प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।

यसअघि सरकारले ल्याएको बजेट पास नभएकाले गएको ३० गते रातिदेखि सरकार खर्च गर्न नपाउने अवस्थामा पुगेको थियो। प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पक्षपातपूर्ण व्यवहार गरेर पार्टी फुटाउने षड्यन्त्र गरेको र एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा विरोध गरेपछि बजेट प्रभावित भएको थियो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट अस्वीकार गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।