राष्ट्रियसभाको बैठक आउँदो सोमबारसम्मका लागि स्थगित

राष्ट्रियसभाको बैठक आउँदो सोमबारसम्मका लागि स्थगित
शुक्रबार, अशोज ८, २०७८

काठमाडौँ – राष्ट्रियसभाको बैठक आउँदो सोमबारसम्मका लागि स्थगित भएको छ ।

आजको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।

आजको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले यी दुई विधेयक टेबुल गरेका थिए । छलफलमा कसैले पनि भाग लिन नचाहेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक निर्णयार्थ पेश गरेका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले बिचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि अध्यक्ष तिमिल्सिनाले छलफलका लागि आह्वान गरे पनि कसैले भाग नलिए पछि विधेयक अघि वढाइएको हो ।

अब आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि सुझाब पेश गर्न चाहने सांसदले विधेयक शाखा राष्ट्रियसभामा सुझावसहितको सुचना दिन सक्नेछन् । अब यी दुई विधेयकमाथि दफाबार छलफल हुनेछ ।