जोडिनुहोस
  • होमपेज
  • श्रीमतीलाई दाइजो नल्याएको भन्दै आगो लगाई हत्या प्रयास

श्रीमतीलाई दाइजो नल्याएको भन्दै आगो लगाई हत्या प्रयास

काठमाडौँ : दाइजो नल्याएको भन्दै धनुषामा श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ।

जनकपुरधाम उपमहानगर–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा उनका श्रीमान राजीव झासहित परिवारका अन्य सदस्य मिलेर आगो लगाएर हत्या गर्ने प्रयास भएको घटना बाहिरिएको हो। जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत श्वेताले श्रीमान् राजीवले परिवारका अन्य सदस्यको सहयोगमा आफ्नो शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाइन्।

श्वेताले आफूलाई श्रीमान् राजीव, ससुरा शिवशंकर झा, सासू र देवर लगायतले कुटपिट गर्दै शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताइन्।

गत वैशाख १ गते राजीवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहँदा छोरालाई बचाउने क्रममा उनले श्वेतालाई पनि कुटपिट गर्दै भाइ, बुबा र आमाको सहयोगमा उनको शरीरमा आगो लगाइदिएको श्वेताको आरोप छ। राजीवको परिवारले आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेर शरीरमा आगो लगाए पनि यतिका दिनसम्म उपचारका लागि अस्पताल समेत नल्याएको उनले बताइन्।

घटनाबारे थाहा पाएपछि भारत विहारको दरभंगास्थित पोठिया माइती रहेकी श्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन्। श्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ।

उनले भनिन्, ‘विवाह भएको १० वर्ष भयो। दाइजोमा स्विकारेको ३ तोला सुन अहिलेसम्म नदिएको भन्दै उनीहरूले मलाई विगतदेखि कुटपिट गर्दै आएका थिए, अहिले आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन्।’

घाइते श्वेताले श्रीमान राजीव र ससुरा पक्षले विवाहका वेला ३ तोला सुन मागेको बताइन्। त्यति वेला बुबाले २ लाख भारतीय रुपैयाँ दिए पनि अहिलेसम्म ३ तोला सुन नदिएको भन्दै पटक पटक आफूलाई प्रताडित गर्दै आएको उनको आरोप छ।

श्वेताले विवाहपछि बुबाले निरन्तर राजीव र उनको परिवारलाई आर्थिक सहयोग गर्दै आएको जानकारी दिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका