जोडिनुहोस
  • होमपेज
  • गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको पद गुम्ने अवस्थामा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको पद गुम्ने अवस्थामा

पर्वत : गण्डकी प्रदेश सभाको बैठकबाट शनिबार मुख्यमन्त्री खगराज अधिकारीको पद गुम्ने अवस्थामा छ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका उनलाई सुरुमा एकै कित्तामा उभिएको नेकपा माओवादी केन्द्रले केन्द्रीय गठबन्धन परिवर्तन भएसँगै प्रदेशमा दिएको समर्थन पनि फिर्ता लिएको छ।

माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्रमा विश्वासको मत लिनुपर्छ। शनिवारको प्रदेश सभा बैठकमा अधिकारीलाई विश्वासको मत पुग्ने अवस्था छैन। यो अवस्थामा उनीसँग दुई विकल्प छन्। विश्वासको मत नपाउने भएपछि बैठकमा विश्वासको मत माग्नु अघि नै पदबाट राजीनामा गर्नु वा मत मागेपछि हार बेहोर्नु।

बाहिरिने अवस्थामा रहेका मुख्यमन्त्री अधिकारी गत पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० अनुसार सरकारी सेवामा रहेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ। अधिकारीले गत माघ १२ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लिखित रूपमा सम्पत्ति विवरण बुझाए पनि ‘वेब साइट’ मा भने उनको विवरण सार्वजनिक गरिएको थिएन।

सरकारमा रहुञ्जेल आफ्नो सम्पत्ति विवरण ‘वेब साइट’ मा राख्ने निर्णय नगरेका मुख्यमन्त्री अधिकारीले आफू पदबाट बाहिरिनुपर्ने अवस्थामा सम्पत्ति विवरण वेब साइटमा राख्ने निर्णय गरेपछि कार्यालयले सम्पत्ति विवरणको लिखित कागज ‘वेब साइट’ मा राखेर सार्वजनिक गरेको छ।

कास्कीको पोखरा महानगरपालिका–३१ मा स्थायी घर भई हाल पोखरा महानगरपालिका–१२ शान्तिटोलमा ६ आना क्षेत्रफलमा घर बनाएका छन्। आफूले ८० लाखमा खरिद गरेको घरको मूल्य करिब दुई करोड पर्ने र उक्त घर पैतृक सम्पत्ति बिक्री गरेर खरिद गरेको विवरणमा उल्लेख छ। जन्मिएको ठाउँ वडा नं. ३१ मा अंशवण्डाबाट आएको आठ कित्तामा जमिन रहेको तथा उक्त जमिन संयुक्त नाममा रहेको मुख्यमन्त्री अधिकारीले बुझाएको कागजमा लेखिएको छ।

अंशवण्डाको क्रममा १५ लाख रुपैयाँ नगद र तीन तोला सुन रहेको बताएका उनले विभिन्न बैंक र सहकारीमा अघिल्लो वर्षदेखिको मौज्दात रकम १० लाख रहेको उल्लेख गरेको छन्। गण्डकी विकास बैंकको शेयर सदस्य रहेका उनले तीन साथीबाट ३५ लाख रुपैयाँ ऋण लिएकोमा हालसम्म १० लाख रुपैयाँ तिरेर २५ लाख रुपैयाँ बाँकी रहेको पनि बताएका छन्।

सवारी सम्पत्तिको रूपमा २०७८ सालमा ५० लाखमा स्कार्पियो गाडी खरिद गरेको उल्लेख छ। पुरानो आई ट्वान्टी कार बेचेर त्यसबाट आएको पैसामा रकम थप गरेर स्कार्पियो किनेको पनि अधिकारीले बताएका छन्।

कृषि फसलबाट वार्षिक छ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको, अग्रगामी कृषि फर्ममा श्रीमती रमा पाण्डेको नाममा साढे १६ लाख रुपैयाँ राखिएको, चितवनमा निर्माणाधीन एक रिसोर्टमा  श्रीमती पाण्डेकै नाममा २० लाख शेयर रहेको तथा श्रीमती पाण्डे प्राथमिक तहको दरबन्दीमा कार्यरत शिक्षक रहेको विवरणमा उल्लेख छ। यस्तै २०७८ सालको जेठमा प्रभु बैंकबाट ८० लाख रुपैयाँ ऋण लिएर श्रीमतीको नाममा चन्द्रागिरि र काठमाडौंमा घडेरी किनेको पनि मुख्यमन्त्री अधिकारीले बुझाएको पत्रमा लेखिएको छ।

तीन साथीलाई तिर्नुपर्ने २५ लाख र प्रभु बैंकबाट लिएको ८० लाख रुपैयाँ गरी एक करोड पाँच लाख रुपैयाँ उनको ऋण देखिएको छ। उनले बुझाएको विवरणको मोटामोटी हिसाब गर्ने हो भने उनी श्रीमती र आफ्नो नाममा रहेको चल अचल सम्पत्ति गरेर करिब साढे तीन करोडका मालिक हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका