कात्तिक ६ गते देशभरका सबै वडामा एमालेको अधिवेशन

कात्तिक ६ गते देशभरका सबै वडामा एमालेको अधिवेशन
आइतवार, अशोज ३१, २०७८

काठमाडौं । नेकपा एमालेले कात्तिक ६ गते देशभरका सबै वडाहरूमा अधिवेशन आयोजना गर्ने भएको छ ।

एमालेले कात्तिक ६ गते एकसाथ देशभरका ६ हजार ७ सय ४५ वडामा नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने जनाइएको छ ।

मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ ।

केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनको उद्घाटन गर्ने जानकारी दिएको बताए ।

उनका अनुसार एमाले केन्द्रीय कार्यालयले बढीमा ३ सयसम्म वडालाई जुममा जोडेर एक साथ वडा अधिवेशनको उद्धाटन गर्ने तयारी गरेको छ।