गुल्मीमा खोलाले यात्रुवाहक जिप बगायो

गुल्मीमा खोलाले यात्रुवाहक जिप बगायो
सोमवार, कार्तिक १, २०७८

गुल्मी । दुई दिनदेखिको लगातार अविरल वर्षाका कारण गुल्मीमा खोलाले जिप बगाएको छ ।

सोमबार बिहान बुटवलबाट गुल्मीको वामीटक्सारतर्फ आउँदै गरेको लु१ज ३४३२ नम्बरको यात्रुवाहक जिप खोला तर्ने क्रममा बगाएको हो ।

गुल्मीको सत्यवती गाउँपालिका–६ अन्तर्गत डहरे खोलाले अपराह्न दिउँसो २ः३० बजेको समयमा बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खोला तर्ने क्रममा खोलाको बीच भागमा पुगेर अचानक जिप रोकिएपछि यात्रुहरु तत्कालै जिपबाट झरेका थिए । जिपमा सवार नौ जना यात्रु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

यात्रु झरेलगत्तै ठाडो खोलामा माथिबाट आएको पानीको बहावले जिपलाई बगाएर बढीघाट खोलामा पु¥याई बेपत्ता बनाएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिइका छन् ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी टोली घटना स्थलमा पुगेको थियो । खोलाले बगाएको उक्त सवारी साधन अझै फेला पर्न सकेको छैन ।

अध्यक्ष ढकालका अनुसार वर्षाका कारण सोमबार बिहानदेखि अवरुद्ध बनेको रिडी–रुद्रवेणी सडक भने स्थानीय पालिकाको पहलमा केहीबेर अघि सञ्चालनमा आएको बताए ।