Wed Aug 10 2022
देश

कालीकोट र डडेलधुरामा पहिरोमा परी दुई जनाको मृत्यु, दुई जना घाइते

काठमाडौं । लगातारको वर्षाका कारण आएको कालीकोट र डडेलधुरामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बाढी र पहिरोका कारण कालीकोट र डडेलधुरामा एक–एक जनाको मृत्यु भएको हो भने एक–एक जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

अविरल वर्षाका कारण कालीकोटको महाबै गाउँपालिका–७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ ।

अधिकारीकी १५ वर्षीया छोरी बुनिसा अधिकारी घाइते भएकी छन् । युनिसालाई घरले पुरेको अवस्थामा उद्धार गरिएको थियो । उनको अवस्था सामान्य रहेको गृहमन्त्रालयले जनाएको छ ।

यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ ।

घरमाथि पहिरो खस्दा ३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घाइते भएका थिए ।

च्यापिएको अवस्थामा दुवै जनालाई उद्दार गरी उपचारका लागि डडेलधुरा अस्पताल लगिएको भएपनि विष्णु अवस्थीलाई चिकित्सले मृत घोषणा गरेका थिए ।

गृहमन्त्रालयले दिएको जानकारी अनुसार सरिताको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।