Sun Jan 16 2022
देश

बझाङमा पहिरोमा परी २३ जना बेपत्ता, सञ्चार सेवा नै अवरुद्ध हुँदा उद्धारकार्यमा समस्या

बझाङ । बझाङमा गएराति गएको पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् ।

बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो खस्दा २३ जना बेपत्ता भएका हुन् । सात घर पुरिएका छन् ।

गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् ।

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसल छन् ।

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा।वि महेन्द्रधारमा बसेका छन् ।

गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा.वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले जानकारी दिएका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा समेत अवरुद्ध भएको छ । थप विवरणका लागि सम्पर्क हुन सकेको छैन ।

बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारकार्यमा समस्या भइरहेको स्थानीयले बताएका छन् ।

उनीहरुले पहिरामा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको बर्षाले बाटो अवरुद्ध भएकाले सो घटनास्थलसम्म जान नसकिएको बताए ।