Sun Jan 16 2022
मुख्य खबर

बेमौसममा ‘अतिभारी’ वर्षा’, १९ जिल्ला ‘अतिप्रभावित’, १६ जनाको मृत्यु

काठमाडौँ- बेमौसममा आएको अतिभारी वर्षाले देशभरको जनजीवन अस्तव्यस्त भएको छ ।

अतिभारी वर्षापछिको बाढी,पहिरो र डुबानले १९ जिल्ला अतिप्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । मंगलबार बेलुकासम्मको विवरणअनुसार बाढीपहिरोले कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका मात्र ८ जना छन् । बैतडीमा ३, सुनसरीमा २, सिन्धुली, डडेलधुरा र कालीकोटमा एक/एक जनाको ज्यान गएको हो ।

बझाङमा २४ र डोटीमा १ गरी २५ जना बेपत्ता छन् । २ हजारभन्दा बढी घर डुबानमा परेका छन्  । विभिन्न स्थानका १० वटा राजमार्ग अवरुद्ध भएका छन् भने दर्जनौँ स्थानका साना ठूला पुल भत्किएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिएको घोषणा गरेको एक हप्ता नवित्दै भएको अक्टोबर महिनाको यो अतिभारी वर्षा १२ वर्षपछिकै ठूलो भनिएको छ । जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा प्रमुख इन्दिरा कँडेलका अनुसार मुलुकका २० वटा मापन केन्द्रलाई आधार मान्दा अक्टोबरभरिको सरदर वर्षा ६६.५ मिमि हो । तर यो वर्ष अक्टोबरका १९ दिनमै १६८.३ मिमि वर्षा भइसकेको छ । जुन सरदरभन्दा १०२ मिमिले बढी हो । न्यून चापीय प्रणालीको असरले भएको यो वर्षा भोलिदेखि सुधार हुने मौसमविद्को पूर्वानुमान छ ।