Sat Jan 22 2022
मुख्य खबर

दुबईमा अलपत्र परेका सात नेपाली युवाको उद्धार

पर्सा – वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका ७ युवा उद्धार पश्चात घर फर्केका छन्। बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो ।

दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन्।

एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक ९टुरिष्ट० भिसामा वैदेशिक रोजगारीका लागि युवा केही समयअघि दुबई गएका थिए । दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरु नेपाल फर्केका हुन् ।

नगरप्रमुख साहले भने ‘मेरो दुबई यात्रा सात दिनको थियो, तर युवाहरूका बारेमा थाहा पाएपछि मैले भ्रमण तीन दिनमै छोट्याएँ, युवाहरूको उद्धार गरी घर फकाईएको छ ।’

नगरप्रमुख साहले दसैँ बिदामा दुबई घुम्न गएका बेला त्यहाँ आफ्नै गाउँका युवा अलपत्र परेको थाहा पाएपछि आफ्नो भ्रमण समयवाधि छोट्याएर उनीहरुलाई उद्धार गरी घर फर्काए । नगरप्रमुख साहले अझै पनि आफ्नो गाउँका चार युवा दुबईमै अलपत्र परेको आफूले थाहा पाएकाले उनीहरुलाई पनि घर फर्काउन पहल गर्ने जानकारी दिए ।