Thu Jan 20 2022
देश

शुक्रबार पनि आलमको मुद्दामा भएन सुनुवाइ

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि शुक्रबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन ।

विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

शुक्रबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने गरी पेसी तोकिए पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाइ स्थगित भएको छ ।

यसअघि पनि आलमको मुद्दामा पटक पटक पेसी तोकिएको थियो । यद्यपि उक्त रिट निवेदनमा विभिन्न कारणले सुनुवाइ स्थगित हुँदै आएको छ ।

आलम रौतहटबाट निर्वाचित सांसद हुन् ।