Mon Jan 17 2022
देश

बेमौसमी वर्षाका कारण ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा क्षति

काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानका कारण देशका विभिन्न जिल्लामा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा नोक्सान पुगेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको रिपोर्ट अनुसार गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा नोक्सान भएको जनाइएको हो ।

कुल १ लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लागाइएको धानबालीमा क्षति पुगेको र सोबाट ७ अर्ब २२ करोड रुपैयाँ बराबरको नोक्सान भएको मन्त्रालयले जनाइएको हो ।

अविरल वर्षाका कारण मुख्य गरी तीन प्रदेश प्रभावित हुन पुगेको छ ।

सबैभन्दा बढी लुम्बिनी प्रदेशको ९३ हजार ५७६ हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ भने यसबाट ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको नोक्सान हुन पुगेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको प्रभावित ५५ हजार हेक्टर क्षेत्र मध्ये १८ हजार हेक्टरमा लगाइएको धानबाली पूर्णरुपमा क्षति भएको छ भने यसबाट १ अर्ब ९१ करोड रुपैयाँ नोक्सान भएको छ ।

यता, प्रदेश नम्बर १ मा पनि सोही वर्षाले ४९ हजार ९४५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा प्रभाव पारेको र सोबाट लगभग ८० करोड रुपैयाँ बराबरको नोक्सान हुन पुगेको मन्त्रालयले जनाएको छ ।