Fri Jan 21 2022
देश

सरकारले योजनावद्ध सोंच अगाढि ल्याउन ढिलाई गर्नु हुँदैनः गगनकुमार थापा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउनु भएको छ ।

पूर्वमन्त्री समेत रहनु भएका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको हो ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आज काठमाडौंमा गरेको एक कार्यक्रममा उहाँले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

कांग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नु भयो ।

उहाँले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोंच अगाढि ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो ।

नेता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गर्नु भयो ।

उहाँले देशलाई बनाउने हो भने सबैले आ–आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

नेता थापाले मुलुकका विद्यमान बेरोजगारी समस्या समाधान गर्न ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।