Sat Jan 22 2022
मुख्य खबर

बेमौसमी बर्षाको प्रभाव: १०७ को मृत्यु, ३५ बेपत्ता, ३२ घाइते (भिडियो रिपोर्ट)

पुष्कर खतिवडा
आइतबारदेखिको बेमौसमी अबिरल वर्षाले देशैभर ठुलो मात्रामा जनधनको क्षति गरेको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ । बेपत्ता हुनेको संख्या ३५ रहेको छ भने घाइते हुनेको संख्या ३२ पुगेको छ ।

गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पु¥याएको छ । पहिरोमा परी पाँचथरमा मात्रै २८ जनाको मृत्यु हुँदा ९ जना घाइते भएका छन् । पाँचथरपछि बढी मानवीय क्षति हुने जिल्ला डोटी बनेको छ । डोटीमा मात्र पहिरोमा परि १६ जनाको ज्यान गएको छ भने १० जना घाइते बनेका छन् ।

डोटीपछि इलाममा बढि मानविय क्षति भएको छ । इलाममा पहिरोमा परी १४ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । २ जना बेपत्ता छन् । यस्तै पहिरोमा परी धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।

यस्तै पहिरो र बाढीमा परी बझाङमा ९ जना, सुनसरीमा १० जना र उदयपुरमा २ जनाको मृत्यु भएको छ । कालीकोटमा १ जना, डडेलधुरामा २ जना, प्युठानमा २ जना, सोलुखुम्बुमा २ जना र मोरङमा १ जनाको मृत्यु भएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः

असोज ३१ गतेदेखिको बेमौसमी वर्षाका कारण ३ वटा प्रदेशमा झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक अनुमानित विवरण अनुसार ६७ हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।

यता कर्णाली नदीमा आएको बाढीले बर्दियाको राजापुर नगरपालिकामा एक हजार २७ र गेरुवा गाउँपालिकामा २ सय १० घर परिवार प्रभावित भएको प्रदेश सरकारले जनाएको छ ।

वर्षापछिको पहिरोले खानेपानीको मुहान बगाउँदा हुम्लामा खानेपानीको चरम हाहाकार भएको छ । पहिरोले हुमाने तथा छ्याल्दर खोलाको मुहानलाई बगाउँदा सदरमुकामवासीलाई तीनधारा र सिमसार क्षेत्रका धारामा घण्टौँसम्म लाइन बसेर पानी थाप्नुपर्ने बाध्यता आएको छ ।

विहारमा रहेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायूको प्रभाव अहिले नेपालबाट हटेको भन्दै मौसमविद्ले अब ठूलो जोखिमको सम्भावना नरहेको जनाएका छन् । यद्यपी अविरल वर्षाका कारण कमजोर बनेको भूमिमा जुनसुकै क्षति हुन सक्ने भएकाले उचित सावधानी अपनाउन जरुरी छ ।