Mon Jan 24 2022
देश

भारतले जयनगर–कुर्था सीमापार रेल खण्ड हस्तान्तरण गर्‍यो

काठमाडौँ– भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवको उपस्थितीमा भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको थियो ।

दुतावासका अनुसार भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको छ ।

भारत सरकारको आर्थिक सहयोग अन्तर्गत ८.७७ अर्ब नेपाली रुपैंयामा निर्माण भएको जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा रहेको दुतावासले जनाएको छ । यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज रेलमार्गको रुपमा रहेको थियो । जयनगर–कुर्था खण्डमा कूल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन् जसमा जनकपुरको ऐतिहासिक महत्वको शहर पनि सामेल छ ।

एकपटक सञ्चालनमा आए लगत्तै यो भारत र नेपालबीचको पहिलो ब्रोड गज सीमापार रेलमार्ग हुनेछ ।