Wed Aug 10 2022
देश

नगरपालिका क्षेत्रभित्र बङ्गुरपालन गर्न निषेध

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र बङ्गुरपालन गर्न निषेध गरेको छ ।

आफ्नो ननगरसभाले नगर क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको हो ।

नगरपालिकाले हालै सूचना जारी गरेर आगामी मङ्सिर ५ गतेभित्र सबै बङ्गुर फार्म हटाउन निर्देशन समेत दिएको छ ।

फार्मले नगरभित्र फोहर र प्रदूषण बढाएका, प्राकृतिक सौन्दर्यतामा असर पुर्‍याएको, खोलादेखि स–साना खहरेमा फोहर तथा ढल सिधै हाल्ने गरेको र बस्तीमा प्रदूषण फैलाएको जनाउँदै सञ्चालनमा रोक लगाएको सूचनामा जनाइएको छ ।

फार्मबाट फोहर र प्रदूषण बढेकाले त्यस्ता फार्म बन्द गर्न माग गर्न स्थानीय, वडादेखि नगरपालिकासम्म दबाब दिएकाले नगरसभाले नै यस्तो निर्णय गरेको हो ।

सरकारको नियमानुसार पनि यस्ता बङ्गुर फार्म सम्बन्धित पालिकासँग अनुमति लिएर व्यवसाय दर्ता गर्दै बस्तीको बीच वा बस्ती नजिक नभइ बस्तीभन्दा टाढा सञ्चालन गर्न पाइने व्यवस्था छ ।

चाँगुनारायण क्षेत्रमा मानव बस्ती आसपासमा अधिकांश फार्म सञ्चालनमा रहेको नगरपालिकाको भनाइ छ ।