Wed Aug 10 2022
देश

द्रूत विकासका लागि कानुन बाधक बन्योः मन्त्री यादव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले निर्माण तथा खरीदको बोलपत्रसम्बन्धी कानुनी व्यवस्था विकासको बाधक बनेको टिप्पणी गरेकी छन् ।

आइतबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा बाढी पहिरोले क्षति पुर्‍याएका सडक तथा पुलहरुको अवस्थाका विषयमा छलफल गर्न आयोजित बैठकमा मन्त्री यादवले द्रूत विकासका लागि कानुन बाधक बनेको टिप्पणी गरेकी हुन् ।

सबैभन्दा कम मूल्यमा ठेक्का सकार्नेलाई विकास निर्माणको काम गर्न दिनुपर्ने कानुनी व्यवस्थाका कारण गुणस्तरीयतामा ध्यान पुग्न नसकेको र यस्तो नेपालमा मात्रै रहेको मन्त्री यादवले बताइन् ।

विकसित मुलुकहरुमा बोलपत्र भर्ने उत्कृष्ट ३ कम्पनी छनोट गर्ने र त्यहीमध्ये एउटाले विकास निर्माणको कामको जिम्मा पाउने व्यवस्था रहेको भन्दै मन्त्री यादवले नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने धारणा राखिन् ।

‘विकास निर्माणका काममा संघ, प्रदेश र स्थानीय तह कसले गर्ने भन्ने विवाद हुने गरेको पनि मन्त्री यादवले बताइन् ।