Thu Jan 27 2022
देश

जीप दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

काठमाडौं । सल्यानमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

जिल्लाको वागचौरबाट दाङतर्फ जाँदै गरेको भे १ च १८९० नंको जीप कपुरकोट गाउँपालिका–३ स्थित मूलपानी नजिकै आज दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा परी बागचौर नगरपालिका–१ निवासी १४ वर्षीय आयुष बस्नेतको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते हुनेमा बागचौर नगरपालिका–१ का २२ वर्षीय मनोज बस्नेत, सोही नगरपालिका–२ का २७ वर्षीया सीता वली, २८ वर्षीय बबिता रावल, ११ वर्षीया आशिका रेउले र जीप चालक वागचौर नगरपालिका–२ १९ वर्षीय हिक्मत पुन मगर रहेको प्रहरीको भनाइ छ ।

घाइतेहरूको प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।

गम्भीर घाइते भएका बस्नेतको उपचारका लागि दाङ लिँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।
जीप सडकबाट सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।