Mon Aug 8 2022
देश

बागमती प्रदेशः मन्त्रालयको भागबन्डा मिल्यो, खनाल आन्तरिक मामिला र भँडेल भौतिक पूर्वाधार मन्त्री बन्ने

हेटौंडा । बागमती प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ ।

आज बसेको गठबन्धनको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम र मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैछन् ।

बागमतीमा कृष्णप्रसाद खनाल आन्तरिक मामिला, कृष्णलाल भँडेल भौतिक पूर्वाधार र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् ।

कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा पाण्डेले बुधबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

तत्काल तीन मन्त्रीसहित मुख्यमन्त्री पाण्डे सरकारमा जाने र तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ ।

एमाले विभाजन भएपछि १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् ।