Thu Jan 27 2022
देश

प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित, एमालेको नाराबाजी भने कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित गरिएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाए ।

बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजी भने कायमै रह्यो ।

सभामुख सापकोटाले ‘प्रतिनिधिसभाको कामकारबाही शुरु हुन्छ’ भन्ने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी शुरु गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे ।

सभामुखले संसदमा जारी नराबाजी रोक्न, खुलाउन एमालेका सांसदहरुलाई आग्रह गरेपनि एमालेले नाराबाजी कायमै राख्यो ।

सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे ।

सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत गर्‍यो ।

त्यसपछि सभामुख सापकोटाले अर्को बैठक कात्तिक २९ गते दिउँसो १ बजे बस्ने जानकारी दिए ।

२३ साउन २०७८ बाट शुरु भएको चालु अधिवेशनमा एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ ।

एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने माग राखेको छ । अन्यथा सदन चल्न नदिने उनीहरुको अडान छ ।

तर, सभामुख सापकोटाले यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भनेर एमालेलाई सम्झाएपनि एमालेले भने १४ जना सांसद कारबाहीमा परेको सूचना टाँस नगर्ने भए सभामुखले राजीनामा दिनुपर्ने बताएको छ ।