Fri Jan 21 2022
देश

नेपाल–भारत द्विपक्षीय परामर्श बैठकमा आपसी सुरक्षाका विषयमा छलफल

काठमाडौँ– नेपाल-भारत द्विपक्षीय परामर्श समूह (एनआइबिसिजिएसआई) को १४ औं बैठक शुरु भएको छ ।

भारतको बैंग्लोरमा जारी बैठकको पहिलो दिन आज आपसी सुरक्षा विषयमा छलफल भएको छ । बैठकमा सीमा सुरक्षा, सीमा अपराध, दुई देशबीच सुरक्षा सहकार्य, तालिम तथा क्षमता अभिवृद्धी र आपसी सहयोगका विषयमा केन्द्रित भएर छलफल भएको छ ।

नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयको दक्षिण एशिया महाशाखा प्रमुख एवं सहसचिव तिर्थराज वाग्लेको नेतृत्वमा रक्षा मन्त्रालय र नेपाली सेनाका विज्ञसहितको टोली सहभागी छ । रक्षा मन्त्रालयबाट दुई अधिकारी, सेनाका तीन सहायक रथी, परराष्ट्रका अन्य अधिकारी र दूतावास प्रतिनिधि सहित १६ अधिकारी बैठकमा सहभागी छन् ।

भारतको तर्फबाट पनि त्यहाँको विदेश मन्त्रालय अन्तर्गत नर्थ डिभिजन महाशाखा प्रमुखको नेतृत्वको टोली छ । भारतबा६ सहभागीको संख्या पनि नेपालकै जति छ ।

नेपाल सरकार तथा भारत सरकारबीच सुरक्षा सम्बन्धी विषयमा नियमित रूपमा छलफल गर्ने उद्देश्यका साथ नेपाल-भारत द्विपक्षीय परामर्श समूह सन् २००३ मा गठन भएको हो । यस समूहको सन् २००३ देखि सन् २०१८ सम्म गरी एक दर्जन भन्दा बढी बैठक सम्पन्‍न गरिसकेका छन् ।

यो १४ औँ बैठक मा कोभिडका कारण रोकिएका र त्यसअघिका विभिन्न विषयमा छलफल हुनेछ ।

यो बैठक दुई वर्ष अघि नै गर्ने तय भएको भए पनि कोभिडका कारण स्थगन भएको थियो । नेपाल र भारतबीच अधिक दुईपक्षीय संयन्त्रहरू छन् । सबै संयन्त्रहरू अघि बढ्ने तयारी भएको छ ।