Thu Aug 18 2022
मुख्य खबर

अफगानिस्तानबाट ३२ नेपाली स्वदेश फर्किए

काठमाडौं । सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले आज स्वदेश फिर्ता गरिएको जानकारी दिएका हुन्।

अब अफगानिस्तानमा उद्धारका लागि कुनै पनि नेपाली नागरिक नरहेको परराष्ट्र मन्त्रालयको दाबी छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले भने‚ ‘आज ३२ जना नेपाली आउनु भएको छ। अब चाहिँ उद्धारको पर्खाइमा रहेका नेपालीको संख्या समाप्त भएको छ।’

अफगानिस्तानमा कोही नेपाली रहेका भए संयुक्त राष्ट्रसंघीय काममा रहेका हुन सक्ने उनले जानकारी दिए। आज नेपाल वायुसेवाको उडानमार्फत दुबईबाट २९ जना नेपाली आएको र यसअघि आजै बिहान ३ जना गरी ३२ जना नेपाली नेपाल फिर्ता गरिएका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार तालिबानले अफगानिस्तान कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका ९ सय ६ नेपालीको यसअघि नै उद्धार गरिएको थियो ।