Thu Aug 18 2022
देश

ओली माडीको अयोध्याधाम अवलोकन गर्न चितवन जाने

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रस्तावित माडीको अयोध्याधाम अवलोकन गर्न चितवन जाने भएका छन् ।

उनी मंगलबार पहिलोपटक अयोध्याधाम जाने भएका हुन् ।

पार्टी अध्यक्ष ओली मंगलबार अयोध्याधाम आउने एमाले माडीका नेता श्रीप्रसाद दवाडीले बताएका छन् ।

अयोध्याधाम अवलोकनपछि ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले एमाले भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन गर्नेछन् ।

अध्यक्ष ओलीले एक वर्षअघि बालुवाटारमा आयोजित कार्यक्रममा राम नेपालमै जन्मेको र अयोध्या पनि नेपालमै रहेको अभिव्यक्ति दिएका थिए ।

अयोध्याधाममा वागमती प्रदेश सरकारको करिब ३० लाख लगानीमा मन्दिर, सत्तल, सुरक्षा गार्ड बस्ने भवन र शौचालय बनेको छ ।

ओली नेतृत्वको सरकारले अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षण गर्न १ करोड बजेट विनियोजन गरेको थियो ।

पुरातत्व विभागमार्फत देशभरका पुरात्विक स्थलको संरक्षण गर्न ४८ करोड बजेट विनियोजन भएको थियो ।

माडी नगरपालिकाले अयोध्याधामका लागि १०० बिघा जमिन प्रस्ताव गरेको थियो ।

ओलीले माडीमा अयोध्याधाम निर्माण गर्ने कार्यलाई सफल पार्ने अडान लिँदै आइरहेका छन् ।

प्रमाण र अनुसन्धानबिना अयोध्याधाम बनाउन लागेको भनेर उनको आलोचना पनि हुँदै आएको छ ।