Tue Jan 18 2022
देश

वर्तमान सरकारले जनताको हितका लागि काम गरेको छः अर्थमन्त्री शर्मा

बागमती । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान गठबन्धनको सरकारले जनताप्रति उत्तरदायी भएर जनताको हित हुने काम गरिरहेको बताएका छन् ।

सोमबार हेटौँडामा आयोजित वाइसिएल हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

देशको अर्थतन्त्र ऋणात्मक भइरहेको बेला हालै आएको प्राकृतिक विपत्तिले थप जटिलता दिएकाले अर्थतन्त्रमा थप नकारात्मक असर परेको बताए ।

हालै आएको बेमौसमी बाढीका कारण देशको जिडिपीमा ७ प्रतिशत योगदान रहेको कृषितर्फको धान खेती नष्ट हुँदा देशको अर्थतन्त्रसँगै गरिब किसानकोे जीविकामा जटिलता थपिएको उल्लेख गरे ।

प्राकृतिक प्रकोपबाट धान खेती नष्ट भएका कृषकको पीडा सम्बोधन गर्ने उद्देश्यका साथ सरकारले राहतको प्याकेजसमेत ल्याएको र चाँडै नै कृषकलाई राहत उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।