Mon Jan 17 2022
अन्तर्राष्ट्रिय

जापानमा रेलवे स्टेसनमा छुरा प्रहार, १७ जना घाइते

जापानमा एक व्यक्तिले ट्रेनमा रहेका सर्वसाधारणलाई छुराले आक्रमण गरेका छन् ।
जापानको राजधानी टोकियो सहरको पश्चिमी उपनगरमा रहेको कोकुरियो स्टेशन नजिकै भएको अक्रमणमा परि १७ जना घाइते भएको बीबीसीले जनाएको छ । आइतबार साँझ टोकियोको रेल लाइनमा जोकर पहिरन लगाएका २४ वर्षीय युवकले यात्रुमाथि आक्रमण गर्दै ट्रेनमा आगजनी समेत गरेका थिए ।
टोकियो फायर डिपार्टमेन्टको भनाई उद्धृत गर्दै एपी समाचार एजेन्सीले घाइतेमध्ये तीन जनालाई गम्भीर चोट लागेको उल्लेख गरेको छ । उक्त व्यक्तिलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको मिडिया रिपोर्टमा जनाइएको छ ।
जापानमा हिंसात्मक अपराध बिरलै हुने भएतापनि हालका वर्षहरूमा केही छुरा आक्रमणहरू भएका छन् ।
अगस्टमा टोकियोको ट्रेनमा एक व्यक्तिले छुरा प्रहार गर्दा १० जना घाइते भएका थिए । यस्तै, २०१९ मा, एक व्यक्तिले कावासाकीमा बसको प्रतिक्षामा रहेका स्कूलका विद्यार्थीहरूको समूहलाई आक्रमण गर्दा दुई जनाको मृत्यु भएको थियो भने कम्तिमा १८ जना घाइते भएका थिए ।