जोडिनुहोस
  • होमपेज
  • एसिया कप पाकिस्तानबाट सार्ने तयारी

एसिया कप पाकिस्तानबाट सार्ने तयारी

काठमाडौं । नेपालसमेत सहभागी हुने एसिया कप क्रिकेटको आयोजनास्थल परिवर्तन हुने सम्भावना बढेको छ । पाकिस्तानमा आयोजना हुने भनिएको प्रतियोगिता अब श्रीलंकामा सर्ने दाबी भारतीय सञ्चारमाध्यमहरुले गरेका छन् ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आफ्ना खेलाडी पाकिस्तान नपठाउने भएपछि एसिया कपको आयोजना अन्योलमा पर्दै आएको छ । पाकिस्तानले आफ्नै देशमा आयोजना हुनुपर्ने अडान लिइरहेको छ भने भारतले मानेको छैन ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले भारतप्रति पक्षधरता देखाएपछि पाकिस्तानमा आयोजना नहुने सम्भावना बढेको हो । बीसीसीआईका सचिव जय शाह नै एसीसीका अध्यक्ष रहेका छन् ।

बीसीसीआईको अडानपछि पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष नजाम सेठीले ‘हाइब्रिड’ मोडलको प्रस्ताव गरेका थिए । जसअनुसार भारतले खेल्ने म्याचहरु यूएईमा र अन्य म्याचहरु पाकिस्तानमै गर्ने उनको आग्रह थियो ।

तर, एसीसी र बीसीसीआईले त्यो प्रस्ताव पनि अस्वीकार गरेपछि पाकिस्तान अप्ठेरोमा परेको छ । आफ्नो आयोजना अधिकार खोसिए पाकिस्तान एकदिवसीय विश्वकप खेल्न भारत नजाने चेतावनी पाकिस्तानी बोर्ड अध्यक्षले दिएका छन् । तर, उनको चेतावनीलाई एसीसीले कुनै महत्व दिएको छैन ।

यसैबीच पाकिस्तानको आयोजना अधिकार खोसेर श्रीलंकालाई दिने तयारी गरिएको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ । एसिया कप आयोजनाका लागि श्रीलंकासँगै बंगलादेश र यूएई पनि इच्छुक थिए । तिनीहरुमध्ये श्रीलंकाको सम्भावना बढी रहेको औंल्याइएको छ । यद्यपि यस विषयमा कुनै पनि आधिकारिक जानकारी दिइएको छैन ।

एसीसीसँग थप छलफलका लागि पीसीबीका अध्यक्ष नजाम सेठी आज दुबई पुगेका छन् । उनले एसीसीका पदाधिकारीहरुसँग परामर्श गरेपछि पाकिस्तानले अर्को निर्णय लिन सक्ने बताइएको छ । यदि आफ्नो देशमा आयोजना गर्न नपाए पाकिस्तानले एसिया कपमा भाग लिन्छ कि लिँदैन भन्ने चासो छ ।

एसिया कपको १३औं संस्करणमा नेपाल पनि सहभागी हुँदैछ । नेपालले एसिया कप खेल्न लागेको पहिलोपटक हो । यसै महिना भएको एसीसी प्रिमियर कपको विजेता भएर नेपालले एसिया कपमा स्थान पक्का गरेको थियो ।

२१ वर्षअघि पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो । त्यसबेला पनि भारत र पाकिस्तानको द्वन्द्वका कारण प्रतियोगिता नै रद्द भएपछि नेपालले खेल्न पाएन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका