Sun Jan 16 2022
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा शृङ्खलाबद्ध विस्फोट, १९ को मृत्यु ५० घाइते

अफगानिस्तानको राजधानी काबुलमा रहेको सैनिक अस्पताल बाहिर शृङ्खलाबद्ध विस्फोट भएको छ ।
विस्फोटमा परि १९ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएको समाचार संस्था ए एफपी ले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले घाइतेलाई काबुलको अस्पतालमा लगिएको बताएका छन् । पहिलो विस्फोट सरदार मोहम्मद दाउद खान ४०० शैया भएको अस्पताल अगाडि भएको थियो भने दोस्रो विस्फोट पनि अस्पताल नजिकै भएको जनाइएको छ ।
एक प्रत्यक्षदर्शीले प्रवेशद्वार नजिकै दुईवटा विष्फोट भएको र त्यसपछि अस्पताल भित्र गोली चलेकोे बताए । आतंककारीले अस्पतालको प्रवेशद्वारमा आफैलाई विस्फोट गराएको जनाइएको छ ।

यस्तै अन्य धेरै आक्रमणकारी भवनमा प्रवेश गरेको जनाइएको छ । अफगानिस्तानको टोलो न्युजले विस्फोटको रिपोर्ट गर्दै बम विष्फोटपछि लामो समय गोली चलेको जनाएको छ ।

हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । यद्यपि यस हमलामा इस्लामिक स्टेट अफखुरासानको हात रहेको हुनसक्ने आशंका गरिएको छ ।