Tue Jan 18 2022
मुख्य खबर

घुस फिर्ता गर्ने ३३ जना ट्राफिक प्रहरी सम्मानित

काठमाडौँ– ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३ जना ट्राफिक प्रहरी सम्मानित भएका छन् ।

कारबाहीमा परेकहरुले घुस दिन खोजेपछि सो घुस फिर्ता गरी कारबाही गर्ने ट्राफिक प्रहरीलाई सम्मान गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ति ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच पुरस्कृत एवं खादा ओढाएर सम्मान गरेको छ।

सम्मानित हुनेहरु मध्ये २० जना ट्राफिक प्रहरीलाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको महाशाखाले जनाएकोछ ।

यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने, अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउने बिश्वास महाशाखाले गरेको छ ।

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न विगतदेखि नै महाशाखाले उक्त अभियान चलाएको छ । प्रलोभनमा पार्न खोज्ने चालकलाई कानुनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पुरस्कृत हुने ट्राफिक प्रहरीले प्रलोभनमा पार्न खोज्ने ३२ जना चालकहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको भट्टराईले बताए ।

एसएसपी भट्टराईले प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शुद्धिकरणको अभियानलाई थप उचाईमा पुर्‍याउन बफादार एव निष्ठावाट भई आफ्नो जिम्मेवारी निर्बाह गरेकोमा धन्यबाद व्यक्त गर्दै थप शसक्त भई कर्तब्य पालनामा अग्रसर हुन शुभकामना सहित निर्देशन समेत दिए ।