Thu Jan 20 2022
मुख्य खबर

तिहारको समयमा मुल्यबृद्धी, व्यवसायीले आफुखुसी मूल्य बढाएको गुनासो

काठमाडौं – हिन्दू नेपालीको दोस्रो ठूलो चार्ड तिहार मनाउन थालिएको छ । तिहार लक्षित किनमेल गर्न पसलमा सर्वसाधारणको भीड बढेको छ । चार्डपर्व लक्षित अत्यावश्यक सामग्री किन्न सर्वसाधारणको चहलपहल बढेसँगै व्यवसायीले मूल्यवृद्धि गराएको गुनासो पनि बढेको छ ।

तिहार लक्षित किनमेलका लागि काठमाडौँका विभिन्न बजार पसल पुगेका सर्वसाधारण महँगो मूल्यले आजित छन् । उनीहरुले महँगी बढेकाले किनमेल गर्न नसकेको भन्दै नियामक निकायले अनुगमन नगरेको भन्दै आक्रोश पोखे । रमाइलो गर्दै मनाइने तिहारमा धेरै सजावटका सामान प्रयोग हुन्छ । यी सामान धेरैजसो बाहिरी देशबाटै आयात गर्नुपर्ने बाध्यता छ । बाहिरबाट ल्याएका सामानको मूल्य बढेकाले मूल्यवृद्धि भएको व्यवसायीको भनाइ छ ।

चार्डपर्वलाई लक्षित गर्दै सरकारी अनुदानमा साल्ट ट्रेडिङले अत्यावश्यक सामग्री सुपथ मूल्यमा विक्री गर्छ । दशैँमा विभिन्न स्थानमा सहुलियत पसल पनि सञ्चालन भए तर, अहिले साल्ट्र टेडिङमै सुपथ मूल्यका सामान छैनन् ।

साल्ट्र टेडिङले गत वर्षको स्टक चिनी अहिले बिक्री गरिरहेको छ । अहिले केही सामान अभाव भए पनि आफूहरुले पूर्ति गर्ने भन्दै वाणिज्य विभागले हल्लाको पछि नलाग्न र नअत्तालिन सर्वसाधारणलाई आग्रह गरेको छ । सरकारले प्रभावकारी रुपमा बजार व्यवस्थापन गर्न नसक्दा व्यापारी व्यवसायीले मनोमानी शुल्क लिने गरेको र बजार मूल्य बढेको उपभोक्ता अधिकारकर्मीको तर्क छ ।

मूल्यवृद्धिको मारमा सर्वसाधारण छन् । नियामक निकाय एकले अर्कोलाई दोष देखाउँदै तर्किँदा सरकारसँगै आक्रोश पोख्छन उपभोक्ता । बजार मूल्यलाई नियन्त्रण गर्न सरकारले उचित नीति बनाउन आवश्यक छ । किनमेल बढी हुने समयमा देखावटी रुपले गरिएका अनुगमनले उल्टो उपभोक्ता मारमा परेको गुनासोलाई सम्बोधन गर्दैै सरकारले बजार व्यवस्थापन गर्नुपर्छ ।

file photo