Thu Jan 27 2022
मुख्य खबर

नेपाली सेनाको तालिम प्राप्त फौजी कुकुरको सशक्त प्रस्तुती ( भिडियोसहित)

काठमाडौं – नेपाली सेनाले भक्तपुरको गठ्ठाघरस्थित भैरव बहान गुल्ममा सैनिक डग तथा कला प्रदर्शनी गरेको छ । कुकुर तिहारको अवसरमा सेनाले सैनिक डग कला प्रदर्शनी तथा कुकुर पूजा गरेको हो ।

गुल्ममा रहेको डग केनलमा हाल जर्मन सेफर्ड २३, लेब्राडोर ५५ र ककर स्पाइनल ७, गोल्डेन रिट्रिभर २ र मालिनोइज १ बच्चा कुकुर रहेका छन् । सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी डग केनलबाट शान्ति मिसनमा कुकुर पठाउने गरेको छ । एउटा स्वस्थ कुकुरले आठ वर्षको उमेरसम्म पूर्णरुपमा काम गर्न सक्ने बताइएको छ । नेपाली सेनाले डग केनलबाट तयार हुने तालिमप्राप्त कुकरलाई विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा समेत पठाउने गरेको छ ।

सरकारले २०५५ सालमा सेनामा तालिमप्राप्त कुकुर राख्ने निर्णय गरेको थियो भने सोही वर्ष भारतबाट जर्मन सेफर्ड ६ र लेब्राडोर जातको ६ कुकर ल्याएर २०५६ देखि तालिम दिन थालेको थियो । सेनाका अनुसार एउटा कुकुरका लागि तालिम र खाना खर्चसहित सबै बन्दोबस्तीका लागि प्रतिदिन ३७३ रुपैया“ खर्च हुने गरेको छ । यस्तै शान्ति सेनामा सुरक्षा गार्ड र गस्तीमा खटिने प्रतिजोडा कुकुरले ८९०.४ र खोज तथा उद्दारमा खटिने जोडी कुकुरलाई प्रतिमहिना ९९५.७२ अमेरिकी डलर भत्ता दिइन्छ ।

यसैबीच सेनाकै मुस्ताङस्थित सैनिक उच्च शिखर शिक्षालयमा गोल्डेन रिट्रिभर २ र चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा पनि कुकुर प्रयोग गरिएको छ । सेनाले कुकुरलाई समय अनुकुल तालिम प्रदान गर्न भारत, पाकिस्तान र बंगलादेश पठाउने समेत गरेको छ । सेनाले कुकुरलाई विभिन्न समारोहमा खेलकूद र मनोरञ्जनका लागि प्रयोग गर्दै आएको छ ।