राजविराज । कुमाल समुदायको पुख्र्यौली पेशा (माटोको भाँडा बनाउने)सङ्कटमा पर्दै गएको छ ।
पछिल्लो समय हाटबजारमा आधुनिक प्रविधिका भाँडाहरु सुपत मूल्यमा प्रशस्त पाउन थालेसँगै कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा परेको हो ।
परम्परागत रुपमा माटोबाट हण्डी, घैटा, गमला, सुल्पा, चिलिम, दिया, कलश, माट, सिरौटा, चुलालगायत आकर्षक सामग्रीहरु तयार पारी बिक्री गर्दै आएका कुम्हाले समुदाय आधुनिकतासँगै आफूले निर्माण गरेको माटोका सामग्री बिक्री हुन छाडेपछि पेशा नै सङ्कटमा पर्दै गएको बताएका छन् ।
विशेषगरी प्लास्टिकका भाँडा निर्माण भएपछि माटोका सामग्री बिक्री हुन छाडेपछि कुम्हालेको पेशा सङ्कटमा परेको हो ।
हिन्दूहरुको महान चाड तिहार र छठमा सबैभन्दा बढी बिक्री हुने माटोको सामग्रीलाई पछिल्लो समयमा झिलीमिली बिजुली बत्ती, धातुका दियो, प्लास्टिकका भाँडालगायत आधुनिक बस्तुले विस्थापित गरेको छ ।
बजारमा प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, थाललगायत सामग्रीले माटाका भाँडाको व्यापार सङ्कटमा परेको भारदहका रामकुमार पण्डितले बताए ।
आफूले बनाएको माटोको भाँडा बिक्री गर्ने बजारको उचित व्यवस्था हुन नसक्दा आफ्नो पुख्र्यौली पेशाा नै सङ्कटमा परेको छ ।
ग्रामीण क्षेत्रबाट बनाएको माटोको भाँडा बिक्रीका लागि राजविराज हटिया र कञ्चनपुर बजारमा ठाउँको अभाव हुने गरेको पण्डितको गुनासो छ ।
सोही ठाउँका सत्यनारायण पण्डितले मेहनतले बनाएको सामग्री फुट्ने डरले साइकलमा विस्तारै घण्टौं समय बिताएर चर्को घाममा बजार पुग्दा राख्ने ठाउँ नभेट्दा मनै रुने गरेको दुखेसो पोखेका छन् ।
अहिलेको समाज आधुनिकतामा रमाएर धातु र प्लाष्टिकका भाँडा तथा रेडिमेड बिजुली बत्तीहरु प्रयोग गर्न थालेपछि आफूहरुको व्यवसाय चौपट छ ।
आफूहरुको पेशा व्यवसायीकरणका लागि सरकारी निकायका साथै गैरसरकारी सङ्घसंस्थाको ध्यान पुग्न नसकेको कुमाल समुदायको गुनासो छ ।
आफूहरुको जातीय पेशा व्यवसायीकरण नहुँदा युवापुस्ता अन्य पेशा व्यवसायका साथै वैदेशिक रोजगारीका लागि खाडी मुलुक पलायन हुन बाध्य भएको बताउँदै अत्यधिक श्रमको प्रयोग र आर्थिक लगानीमा तयार गरिने माटोको भाँडा बिक्री नहुनु र बिक्री भएपनि लागतसमेत उठाउन नसक्नुका कारण यो पेशामा युवापुस्ता संलग्न हुन नचाहेको बताएका छन् ।