Sun Jan 16 2022
देश

चाडपर्वमा बजार अनुगमन नहुँदा उपभोक्ता ठगीमा

बैतडीमा बजार अनुगमन नहुँदा तिहारका बेला बजारका अधिकांश सामानमा उपभोक्ता ठगिएका छन् । बजारमा म्याद नाघेका, लेबल नभएका, बिग्रेका, सडेगलेका सामान खुलेआम बिक्री गरेर उपभोक्ता ठगी भइरहेका छन् । तिहारमा सामान बढी खपत हुने हुँदा कमसल, म्याद नाघेका सामान पनि बढी बिक्री हुने गरेका छन् ।

पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्न थालेको छ । लागत मूल्य नै महँगो भएर आएकाले मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । जिल्ला प्रशासनको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले यसअघि दसैँमा अनुगमन गरे पनि तिहारमा भने गर्न नसकेको हो ।

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गर्ने गरिन्छ ।