यसकारण राजेश हमालले गाउन छोडे

यसकारण राजेश हमालले गाउन छोडे
शनिबार, कार्तिक २०, २०७८

काठमाडौं–नेपाली फिल्ममा ३० वर्ष बढी बिताइसकेका अभिनेता राजेश हमाल अभिनयमा पोख्त छन् भनेर भनिरहनु नपर्ला । झण्डै तीन सयको हाराहारीमा फिल्ममा अभिनय गरिसकेका अभिनेता हमाल विद्यालयमा पढ्दा गीत पनि गाउँथे ।

उनकै भनाईमा कक्षा ६ सम्म पढ्दाताका उनी विद्यालयमा गीत गाउँथे ।

‘विद्यालयमा संगीतको कक्षा हुँदा म अगाडिको सिटमा बस्थें । त्यो बेला सर, मिसहरुले मलाई गीत गाउनका लागि भन्नुहुन्थ्यो र म गीत गाउँथे’ हमालले गाएको गीत ‘मन बुढो भएन’को सार्वजनिकीकरण कार्यक्रममा हमालले भने,‘मैले कक्षा ५, ६ मा पढ्दा राम्रै गीत गाउँथे । तर त्यसपछि के कारणले हो गीत गाउनै सकिएन ।’

हमालको बुझाईमा उमेर बढ्दै गएपछि स्वरमा भएको परिवर्तनले उनलाई गीत गाउन समस्या भयो । ‘मलाई लाग्छ, उमेर बढ्दै गएपछि मेरो स्वर पनि छिप्पिदै गयो । जसकारण गीत गाउन केही समस्या भयो’, उनले भने ।

अभिनेता हमालले ‘मन बुढो भएन’ गीत अघि फिल्म ‘हामी तीन भाई’मा सुरुवाती गीत गाएका थिए । त्यसपछि उनले राजेशपायल राईको एक गीतमा स्वर पनि दिएका थिए ।

अभिनेता हमालले स्टुडियोमा गएर गीत गाउदा कस्तो हुँदो रहेछ भन्ने अनुभव जान्नका लागि पनि आफूले ‘मन बुढो भएन’ गीत गाएको खुलाए । ‘यो गीत स्वरमा मेरो पहिलो प्रयास हो । घरमा निकै अभ्यास गरेपछि गीत गाउन सकें’, हमालले भने ।