Mon Jan 17 2022
देश

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् ।

उनले सोमबार प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले समर्थन जनाएका हुन् ।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा पक्षमा ५९ मत र विपक्षमा ४३ मत खसेको थियो । प्रस्तावमा दुई मत भने तटस्थ रहेको थियो ।

१०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५५ सांसदको समर्थन आवश्यक हुन्छ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा बैठकमा १०४ सांसद थिए ।

प्रदेशसभा बैठकमा राप्रपाका सांसदद्वय रिता माझी र रिना गुरुङ तथा एमालेका सांसदद्वय गणेश दुलाल र बेलिमैया घले अनुपस्थिति रहेको थियो।