Thu Aug 18 2022
अन्तर्राष्ट्रिय

बंगलादेशका पूर्वप्रधानन्यायाधीश सिन्हालाई भ्रष्टाचार मुद्दामा ११ वर्षको जेल सजाय

बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय सुनाइएको छ । ७० वर्षीय पूर्वप्रधानन्यायाधीश सिन्हालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सात वर्ष र विश्वासघात सम्बन्धी मुद्दामा चार वर्ष गरी जम्मा ११ वर्षको जेल सजाय सुनाइएको हो ।

सिन्हाले तत्कालीन फार्मर्स बैंकबाट ४ लाख ७० हजार अमेरिकी डलर ऋण लिएका थिए । त्यसपछि उनले त्यो रकम नगद, चेक र पे–अर्डरमार्फत दोस्रो खातामा सारेको आरोप छ । यसो गर्नु बंगलादेशको भ्रष्टाचार रोकथाम सम्बन्धी कानून अनुसार दण्डनीय मानिन्छ । भ्रष्टाचारसम्बन्धी यही प्रकरणमा मुछिएका १० जनामध्ये मोहम्मद शाहजाँ र निरन्जन चन्द्र साहलाई भने अदालतले सफाइ दिएको छ ।

पूर्वप्रधानन्यायाधीश सिन्हासहित अन्यलाई भने अलग–अलग जरिवाना र जेल सजायको फैसला अदालतले गरेको छ । सिन्हा बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायबाट पहिलोपटक प्रधानन्यायाधीश बनेका थिए । उनी बंगलादेशका २१औं प्रधानन्यायाधीश हुन् ।