Mon Jan 24 2022
आर्थिक

सेयर बजार निरन्तर ओरालो लाग्दै, ५ अर्ब ११ करोड बराबरको कारोबार

काठमाडौं । नेपाली सेयर बजारको ओरालो यात्राले आज  पनि निरन्तरता पाएको छ । यस साता तीन दिन मात्रै बजार खुल्दा ३ दिन नै बजार घटेको हो ।

तिहारपछि सोमबार खुलेको बजारमा खुलेकै दिन घटेको थियो । त्यसैगरी, मंगलबार पनि घटेको थियो, छटपर्वका कारण बुधबार बजार बन्द रह्यो । आज अन्तिम कारोबार दिन पनि बजारले ओरालो यात्रालाई नै निरन्तरता दियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २६९० दशमलव २९ बिन्दुमा पुगेको छ । नेप्से आज २ दशमलव १७ प्रतिशतले घटेको हो ।

यता ठूलो कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १० दशमलव ६३ अंकले घटेर ५०२ दशमलव १९ बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार कुल २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० रुपैयाँको कारोबार भएको छ ।

मंगलबार कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर मूल्य घटेको छ । आज फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् । यस समूहको सेयर मूल्य ४ दशमलव २२ प्रतिशतले घटेको छ ।

आज मानुषी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर ९२८ रुपैयाँ ७० पैसा पुगेको छ । त्यसैगरी, तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले पनि सर्वाधिक कमाएका छन् ।

यता आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।