Wed Jan 19 2022
अन्तर्राष्ट्रिय

टि२० विश्वकपले नयाँ च्याम्पियन पाउने

आइसिसी टि२० विश्वकपले २०२१ मा नयाँ च्याम्पियन पाउने भएको छ । न्युजिल्यान्ड र अष्ट्रेलिया फाइनलमा पुगेपछि टि२० विश्वकपले नयाँ च्याम्पियन पाउने भएको हो । पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटलेनै हराउँदै फाइनलमा स्थान बनाएको छ ।

यी दुबै टोलीले टि२० विश्वकप उपाधि जित्न सकेका छैनन् । न्युजिल्यान्ड पहिलो पटक टि२० विश्वकपको फाइनलमा पुगेको हो । अष्ट्रेलिया दोस्रो पटक फाइनलमा पुगेको हो । अष्ट्रेलिया सन् २०१० को टि२० विश्वकप फाइनलमा इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

यसअघि ६ टि२० विश्वकपका संस्करण सकिँदा पाँच टोली च्याम्पियन बनेका छन् । वेस्टइन्डिजले २०१२ र २०१६ मा दुई पटक उपाधि जितेको थियो ।
२००७ मा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो ।

२००९ मा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै विश्व च्याम्पियन बनेको थियो । २०१० मा इंग्ल्यान्डले अष्ट्रेलियालाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो । २०१२ मा वेस्टइन्डिजले श्रीलंकालाई ३६ रनले पराजित गरेको थियो ।

२०१४ को टि२० विश्वकप फाइनलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको थियो । अन्तिम संस्करण २०१६ मा वेस्टइन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।

अष्ट्रेलियाले सुपर १२ को समूह १ मा ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइन खेलेको थियो । समूह चरणमा अष्ट्रेलिया इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । न्युजिल्यान्ड सुपर १२ को समूह २ मा ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको थियो ।

न्युजिल्यान्ड पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा रहेर सेमिफाइनल खेलेको थियो ।

सुपर १२ को समूह २ बाट पाकिस्तान ५ खेलमा ५ मानै जितका साथ शीर्षस्थानमा रहेर सेमिफाइनल खेलेको थियो । पाकिस्तान सेमिफाइनलमा पहिलो हार खादै बाहिरिएको हो । योसँगै पाकिस्तानको यूएईमा लगातार १६ खेलमा अपराजित यात्रा पनि सकिएको छ ।