Fri Jan 21 2022
देश

विश्वका धेरैजसो देशमा डेंगुको महामारी बढ्न थाल्यो, ४० करोड मानिस ग्रसित

एनेन्सी । कोरोनाबाट आक्रान्त विश्वलाई फेरि डेंगुले सताउन थालेको छ ।

लामखुट्टेको टोकाईबाट लाग्ने यो रोग विश्वका थुप्रै देशहरुमा फैलिएको छ ।

यो रोगबाट वर्षेनी हजारौंको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । डेंगु यस वर्ष मात्र भारतको ३२ राज्यमा फैलिएको छ ।

त्यहाँ मात्र यस वर्ष १ लाख २० हजार भन्दा बढी संक्रमित भएको जनाइएको छ । यो संख्या सन् २०१७ यताकै उच्च भएको उल्लेख छ ।

त्यस्तै, बंगलादेश र पाकिस्तानमा पनि डेंगुले कहर मच्चाइरहेको छ । बंगलादेशमा २५ हजारभन्दा बढी डेंगुका बिरामी भेटिएका छन् ।
बंगलादेशमा यो वर्ष ९० भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै, पाकिस्तानको पञ्जाब प्रान्तमा १९ हजारभन्दा बढी र सिन्ध प्रान्तमा ४२ सयभन्दा बढी मानिस डेंगुबाट ग्रसित भएको भेटिएका छन् ।

डेंगुका कारण दुवै प्रदेशमा ८० जनाको मृत्यु भएको छ । त्यस्तै, अफ्रिका, अमेरिका र एसियाका सय भन्दा बढी देशहरू यो महामारीको जोखिममा रहेका छन् ।

हरेक वर्ष १० देखि ४० करोड मानिस डेंगुबाट संक्रमित हुन्छन् । तीमध्ये गम्भीर ४० हजार मानिसले ज्यान गुमाउँछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको आधा जनसंख्या अर्थात् करिब ४ सय करोड मानिस डेंगुको सबैभन्दा बढी जोखिम हुने क्षेत्रमा बसोबास गर्दछन् ।

संगठनका अनुसार हालैका दशकहरूमा डेंगुको विश्वव्यापी प्रकोप उल्लेखनीय रूपमा बढेको छ । यसलाई १७ उपेक्षित ट्रपिकल रोगहरू मध्ये एक मानिन्छ ।