Wed Jan 19 2022
खेलकुद

फ्रान्स र बेल्जियमले फिफा विश्वकप २०२२ का लागि आफ्नो स्थान सुरक्षित गरे

काठमाडौँ– साविक विजेता फ्रान्स र बेल्जियमले फिफा विश्वकप २०२२ मा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

युरोपियन छनोट अन्तर्गत गएराति कजाकिस्तानलाई ८–० ले हराउँदै फ्रान्सले विश्वकपमा स्थान पक्का गरेको हो । फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले ह्याट्रिकसहित ४ गोल गरे ।

यो जितसँगै समूह डी को फ्रान्सले ७ खेलमा १५ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थानमा छ । कजाकिस्तान ३ अंक जोडेर समूहको पुछारमा छ ।

त्यस्तै बेल्जियमले गएरातिको खेलमा इस्टोनियालाई ३–१ गोल अन्तरले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको हो । यो जितसँगै बेल्जियमले एक खेल अगाबै विश्वकपमा स्थान पक्का गरेको हो ।

समूह ई को बेल्जियमले ७ खेलमा १९ अंक जोडेको छ । अब बेल्जियमले छनोटको अन्तिम खेलमा वेल्सको सामना गर्नेछ । इस्टोनिया ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा वेल्सले बेलारुसलाई ५–१ ले हराएको छ ।