Mon Jan 24 2022
देश

रौतहटमा कार दुर्घटना, चार भारतीय नागरिकको मृत्यु

काठमाडौँ– रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको कार राति सवा १० बजे गौर–चन्द्रनिगाहपुर खण्डको यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा चोकनजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा कारमा सवार चार जनाको मृत्यु भएको प्रदेश नम्बर दुईका प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले जानकारी दिए । यू.के.१२ सी २९०० नम्बरको भारतीय कार झुन्खुवा चौकदेखि उत्तरपट्टि रहेको पेट्रोलपम्प नजिक सडकपेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो ।

दुर्घटनाको खबर सुनेपछि घटनास्थल पुगेको प्रहरी टोलीले उनीहरुको उद्धार गरी जिल्ला अस्पताल गौर पुर्‍याएको थियो । अस्पतालले चारै जनालाई मृत घोषणा गरेको छ ।

अहिले भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गर्ने र सनाखतको काम अघि बढाइने जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

दुर्घटनामा परेको कारलाई क्रेनको सहायताले राति नै पानीबाट निकालेर जिल्ला प्रहरी लगिएको छ ।