Wed Jan 19 2022
मुख्य खबर

जाजरकोटमा खानेपानी समस्याः कुवाको दुषीत पानी पिउन बाध्य ५० घरपरिवार

बद्री पन्त
जाजरकोट – जाजरकोटको नलगाड नगरपालिका–४ प्यारघाँरा र फुलचाँउलीको गाउँमा वर्षौंदेखि खानेपानीको समस्या चरम छ । अहिले पनि पशुचौपाया र मानिसले एउटै कुवाको दुषित पानी पिउन बाध्य छन् । कुवा पनि नजिक छैन । गाउँ देखि २ घण्टा टाढाबाट पानी ल्याउनु पर्छ । समस्या बर्षौदेखिको भएपनि स्थानीय सरकारले समेत यसको वास्ता गरेको छैन ।

विक्रम संम्वत २०२८ साल देखि यहाँका बासिन्दाले पानीको सम्या भोग्दै आएका छन् । स्थानियका अनुसार गाउँबाट २ घण्टा टाढा रहेको कुवामा पनि स्वच्छ पानी पाइदैन । पशुचौपाया र मानिसले एउटै दुषीत पानी पिउनुपर्छ । स्थानीयबासी जयबहादुर कार्की भन्छन्– नेताहरुले निर्वाचन ताका पानीको योजना ल्याइदिन्छौं भन्छन् । तर जितेर गएपछि नेताले विर्सन्छन् ।

त्यसो त खानेपानीको समस्याबारे स्थानीय तहदेखि केन्द्रीय नेता सम्मलाई जानकारी छ । तरपनि समस्या समाधान तर्फ कसैले चासो दिएका छैनन् । सम्बन्धित निकायसँग पटक–पटक खानेपानीको योजना माग गर्दा पनि सुनुवाई नभएको स्थानीय महेन्द्रबहादुर रावलको गुनासो छ ।

बर्षातको समयमा आकाशे पानी संकलन गरेर पानी पिउनु यहाँका बासिन्दाको बाध्यता हो । खानेपानी अभावका कारण दैनिक सरसफाईलगायत काम गर्न पनि समस्या छ । पानीको अभावकै कारण गाउँका चर्पी समेत प्रयोगविहिन छन् । वर्षौैंदेखिको स्थानियको समस्या प्रति सरोकारवालाको ध्यान पुग्नुपर्छ ।