Tue Jan 18 2022
मुख्य खबर

हुम्लामा जहाजको टिकट नपाउँदा परीक्षा छुट्ने चिन्ता

हुम्ला – जहाजको टिकट नपाउँदा मङ्सिरमा हुने परीक्षा दिन जाने विद्यार्थी सिमकोटमै अलपत्रमा परेका छन् ।

दसैँ र तिहार मनाउन घर आएका विद्यार्थी जहाजको टिकट नपाउँदा परीक्षा दिन नपाउने हो कि भन्ने चिन्तामा छन् । केहीले आफ्नो पढाइ छुटेको गुनासो गरेका छन् ।

दुई सातादेखि बिहान ४ देखि विमानस्थलमा रहेका निजी एयरलाइन्सहरूको कार्यालयमा दिनहुँ धाउँदा पनि टिकट नपाएको गुनासो उनीहरुको छ ।

जिल्ला प्रशासन कार्यालयको सिफारिस र मङ्सिर १ गते हुने क्याम्पसको परीक्षा तालिका भएर पनि टिकट नपाएको खार्पुनाथ–१ का विष्णु रावलले गुनासो गरे ।

निजी एयरलाइन्सका हवाईजहाजले आफूखुशी टिकट वितरण गरेका कारण पहुँच नभएका सर्वसाधारण, बिरामी तथा विद्यार्थी छटपटाइरहेका छन् ।

झण्डै एक हप्ता बढीदेखि सीता एयरलाइन्सको बिमान नेपालगञ्जमा बिग्रिएका कारण उडान भर्न सकेको छैन भने समिट र तारा एयरलाइन्सले फोन, पावर र पहुँचका भरमा आफूखुशी टिकट वितरण गरिरहेका छन् ।

यस विषयमा जिल्लाका जनप्रतिनिधि र सरोकार निकाय, नागरिक समाज मौन छन् । दुई सातादेखि विमानस्थलमा जिल्ला बाहिर जाने यात्रुको घुइँचो छ। रासस