Fri Jan 21 2022
मुख्य खबर

इम्बोस्ड नम्बर प्लेट अलपत्र, सेवाग्राहीलाई पुरानै नम्बर

सरकारले मंसिर महिनादेखि सवारीसाधनमा अनिवार्य रूपमा लागू गर्ने भनेको इम्बोस्ड नम्बर प्लेट तयारीबिनै घोषणा गर्दा कार्यान्वयन हुन सकेको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत २२ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरेर पाँचवटा प्रदेशमा १ मंसिरदेखि नयाँ दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने जनाएको थियो ।

राजपत्रमा सूचना प्रकाशित गर्ने तर तयारी भने नगरेका कारण पाँचवटै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा लागू हुन नसकेको हो ।

राजपत्रमा नै सूचना प्रकाशित भए पनि प्रदेशहरूले भने अहिलेकै अवस्थामा निर्णय कार्यान्वयन गर्न सम्भव नभएको समेत जनाएका छन् ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार १ मंसिरदेखि बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट लागू हुनुपर्ने थियो । तर, उक्त प्रदेशअन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूबाट निर्णयको कार्यान्वयन नभएको पाइएको छ ।

बुधबार र बिहीबार नयाँ सवारीसाधन दर्ता गर्न पुगेका सेवाग्राहीले पुरानै नम्बर पाएका छन् ।

प्रदेश कार्यालयहरूले संघीय सरकारले कुनै पूर्वाधार तथा तयारी नै नगरी राजपत्रमा सूचना जारी गरेकाले इम्बोस्ड नम्बर प्लेट दिन नसकिएको जनाएका छन् ।

त्यसो त प्रदेशअन्तर्गतका कार्यालयहरूले तयारी अभाव र पूर्वाधार अभावका कारण निर्णय कार्यान्वयन गराउन नसकिने भन्दै सम्बन्धित प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयहरूलाई पत्र लेखेको पाइएको छ ।

सिस्टमहरूबीचको नेटवर्किङ नभएको, कार्यालयमा पूर्वाधार र कर्मचारीको अभाव रहेकोलगायतका कारण अहिलेकै अवस्थामा नयाँ दर्ता हुने सवारीलाई इम्बोस्ड नम्बर दिन यातायात कार्यालयहरूले जनाएका छन् ।

कतिपय यातायात कार्यालयले अहिलेसम्म इम्बोस्ड नम्बर लिने सवारीसाधनलाई सोही नम्बरका आधारमा कर तिर्न सक्ने व्यवस्थासमेत नगरिएको जनाएका छन् ।

सरकारले सुरु चरणमा सरकारी सवारीसाधनमा मात्र इम्बोस्ड नम्बर राख्ने अभियान चालेको थियो ।

मंसिरदेखि भने सबै प्रकारको सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने तयारी विभागको छ ।

विभागले साढे दुई वर्षमा सबै सवारीसाधनमा जडान गरिसक्ने योजना बनाएको छ ।

विभागका अनुसार करिब ३० लाख सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्ने योजना रहेको छ ।

विभागले हालसम्म ८ हजार बढी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको जनाएको छ ।

यसअघि, इम्बोस्ड नम्बर प्लेट लागू गरिए पनि नेपाली भाषामा नभएको तथा ठूलो आर्थिक चलखेल भएकाले भन्दै सर्वोच्चमा रिट परेपछि रोकिएको थियो ।

विभागले इम्बोस्ड नम्बर प्लेट १० वर्षको आयु हुने र सामान्य नम्बर प्लेटभन्दा बलियो र किफायती हुने जनाएको छ ।

विभागले चार भागमा वर्गीकरण गरेर इम्बोस्ड नम्बर प्लेट जडानमा लाग्ने शुल्क निर्धारण गरेको छ ।

जसअनुसार दुईपांग्रे सवारीसाधनले २ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

तीनपांग्रेले २ हजार ९ सय रुपैयाँ, चारपांग्रेले ३ हजार २ सय र ठुला सवारीको हकमा ३ हजार ६ सय रुपैयाँ तिर्नुपर्नेछ ।

यो समाचार राजधानी दैनिकमा छ ।