Mon Jan 17 2022
मुख्य खबर

कांग्रेस महामन्त्रीमा यी नेताहरूबीच मुख्य प्रतिस्पर्धा

नेपाली कांग्रेसको महामन्त्री पदमा पुग्न दोस्रो पुस्ताका नेता मात्रै मैदानमा देखिएका छन् ।

सभापतिपछि कार्यकारी भूमिकामा महामन्त्री शक्तिशाली मानिन्छ । विगतका महाधिवेशनबाट यो पदमा १ जना मात्र निर्वाचित हुने व्यवस्था थियो तर विधान संशोधनपछि १४औं महाधिवेशनबाट २ महामन्त्री निर्वाचित हुनेछन् ।

१४ पदाधिकारीमा कोषाध्यक्षबाहेक अरू निर्वाचित हुने व्यवस्था कांग्रेसले गरेको छ ।

महामन्त्रीका आकांक्षीहरू प्यानलमै उम्मेदवार बन्ने दाउमा देखिन्छन् । सभापति शेरबहादुर देउवा पक्षबाट बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक र विश्वप्रकाश शर्मा आकांक्षी छन् ।

राप्रपाबाट एकता गरी आएका सुनील थापा पनि संस्थापनबाटै उम्मेदवार बन्न ‘लबिङ’ गरिरहेको नेताहरू बताउँछन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट डा. मीनेन्द्र रिजाल, गगन थापा र धनराज गुरुङ आकांक्षी छन् । नेता कृष्णप्रसाद सिटौला समूहबाट प्रदीप पौडेल आकांक्षी छन् ।

थापा पौडेल पक्षलाई एकजुट बनाएर आफू उम्मेदवार बन्ने रणनीतिमा रहेको नेताहरू बताउँछन् । देउवाइतर समूहबाट सभापतिमा साझा उम्मेदवार बन्ने धारणा नेताहरूले राख्दै आए पनि सहमति जुटेको छैन ।

पौडेल समूहबाट जसले सभापति पाउंँछ, त्यहीभित्रको अर्को पक्षले महामन्त्री पाउने नेताहरू बताउँछन् । डा. शशांक कोइरालाले सभापति पदको उम्मेदवारी नपाए डा। रिजाललाई महामन्त्री अघि सार्ने सम्भावना छ ।

डा। शेखर कोइराला सभापतिको उम्मेदवार नबने गुरुङलाई महामन्त्रीमा अघि सार्ने सम्भावना रहेको युवा नेता बताउँछन् ।

तरुण दल र नेविसंघको सांगठनिक ‘नेटवर्क’मा राम्रो पकड भएका खाँण सशक्त दाबेदार देखिएका छन् तर देउवा पक्षकै सहमहामन्त्री डा. महत भन्छन्, ‘सबै शीर्ष नेतृत्वसँग छलफल गरेरै अगाडि बढेको छु । सहमहामन्त्री भइसकेकाले महामन्त्रीमा मेरो उम्मेदवारी स्वाभाविक हो ।’

२०४८ सालमै नेविसंघ सभापति भएका साउँद पनि संगठनमा बलिया छन् । ‘मेरो उम्मेदवारीको पहिलो प्राथमिकता नै महामन्त्री हो,’ उनी भन्छन्, ‘शीर्ष नेतृत्वमा मिलेर जानुपर्‍यो भने पनि म प्रमुख पदाधिकारी पदको उम्मेदवारबाट बाहिर जान्नँ ।’

देउवानिकट अर्का नेता लेखक महामन्त्री पदमा आफूले उम्मेदवारी पाउनुपर्ने बताइरहेका छन् । प्रवक्ता शर्माले उम्मेदवारी घोषणा नै गरिसकेका छन् ।

पौडेल पक्षमा सहमति भए गुरुङ सहमहामन्त्रीको उम्मेदवार हुन सक्ने नेताहरू बताउँछन् ।

शिव हुमागाईं, उमाकान्त चौधरी, प्रदीप पौडेल, गुरु घिमिरे, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, रामकृष्ण यादवलगायत नेताले सहमहामन्त्री उम्मेदवार सुरक्षित हुन महामन्त्रीमा दाबी गरिरहेको नेताहरू बताउँछन् ।

समानुपातिक समावेशी समूहबाट ८ सहमहामन्त्रीको व्यवस्था छ ।

खुला सहमहामन्त्रीमा देउवाको टीमबाट सुरेन्द्र पाण्डेलगायत नेता दाबेदार रहेका छन् ।

समावेशी सहमहामन्त्रीमा डिना उपाध्याय, ईश्वरी न्यौपाने, कमला पन्त, पुष्पा भुसाल, अम्बिका बस्नेत र डिला संग्रौलाको दाबेदारी छ ।

मधेशीतर्फ महेन्द्र यादव र अजय चौरासिया, पिछडिएको क्षेत्रतर्फ कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही दलिततर्फ मीनबहादुर विश्वकर्मा र मानबहादुर विश्वकर्मा, जनजातितर्फ भीष्मराज आङदाम्बे, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारूतर्फ रामजनम चौधरी, उमाकान्त चौधरीलगायतको दाबेदारी छ ।

सहमहामन्त्रीमै खुलातर्फ गुरु घिमिरे, दीपक गिरी र हृदयराम थानीको दाबेदारी छ । काठमाडौंमा मंसिर २४ गतेदेखि ३ दिन महाधिवेशन हुँदैछ ।

यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।