Sun Jan 16 2022
देश

पूर्वराज्यमन्त्री ओमप्रकाश यादवले एमालेबाट दिए राजीनामा

काठमाडौं । रुपन्देहीका पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार)मा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्व मन्त्री यादवले शनिबार एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले पार्टीको साधारण सदस्यमा भने रहने बताए ।

नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाउदै छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन् ।

यादवले आफुलाई जिल्लामा काम गर्न पार्टी अध्यक्ष शिवराज सुवेदीबाट असहयोग भएको आरोप समेत लगाएका छन् ।

उनले जिल्ला पार्टीका अध्यक्षबाट आफुलाई असहयोग भएको दाबी गर्दै ३ महिनाअघि नै पार्टी उपमहासचिव विष्णु पौडेललाई जानकारी गराए ।