एमाले महाधिवेशन : केन्द्रीय कमिटीमा ५० प्रतिशत नयाँ अनुहार आउन सक्ने

एमाले महाधिवेशन : केन्द्रीय कमिटीमा ५० प्रतिशत नयाँ अनुहार आउन सक्ने
आइतवार, मंसिर ५, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पदका आकांक्षी बढ्दै गएका छन् ।

अबको एक सातापछि एमालेले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एमालेको १०औं महाधिवेशनमा १०, ११ र १२ मंसिरमा चितवनमा हुँदै छ ।

एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

एमालेको महाधिवेशन मिति नजिकिँदै गर्दा पदाधिकारी र केन्द्रीय सदस्य को हुने चर्चासमेत सुरु भएको छ ।

महाधिवेशनबाट नेतृत्व चयन सर्वसम्मत गर्ने दाबी हुँदै गर्दा नेताहरूले विभिन्न पदमा आफ्नो दाबी पेस गरिरहेका छन् ।

यही जोडघटाउ र रस्साकस्सीबीच १०औं महाधिवेशनबाट १५ पदाधिकारीमा कोको आउने भन्ने सर्वाधिक चर्चाको विषय बनेको छ ।

नेकपा एमालेको विधानले १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको छ ।

नवौं महाधिवेशनबाट नेकपा एमालेमा १ सय ६७ सहित त्यसपछि ३ चरणको मनोनयनमा ८९ जना सदस्य थपिएका थिए ।

एमालेमा विद्रोह गर्दै माधव नेपालले भदौ ९ मा एकीकृत समाजवादी गठन गरेपछि ५८ जना केन्द्रीय सदस्य नेपाल नेतृत्वको पार्टीमै गएका छन् ।

यस्तै, विद्यादेवी भण्डारी राष्ट्रपति, गणेश तिमिल्सिना राष्ट्रिय सभा अध्यक्ष, सानुकुमार श्रेष्ठ बाग्मती प्रदेश सभामुख भएकाले एमालेमा उनीहरूको पद रिक्त छ ।

यसअघिका उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिएको र नवौं महाधिवेशनबाट यता आइसक्दा रवीन्द्र अधिकारी (कास्की) सहित ५ नेताको मृत्यु भएकाले उनीहरूको पनि पद खाली छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अहिले एमालेमा १ सय ९६ जना केन्द्रीय कमिटी सदस्य छन् ।

अहिलेकै अवस्थामा महाधिवेशनबाट २९ नयाँ अनुहार केन्द्रीय कमिटीमा आउनेछन् ।

तामाङले केन्द्रीय कमिटीमा ५० प्रतिशतसम्म नयाँ अनुहार आउने बताउँदै भने, ‘१ सय ९६ मा सबै साथीहरू दोहोरिनुहुन्छ भन्ने छैन । पराजित हुन सक्नुहुन्छ । त्यसैले अहिलेको अनुमानअनुसार ५० प्रतिशतसम्म नयाँ अनुहार आउँछन् होला ।’

एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ ओली अध्यक्षमा दोहोरिने निश्चित भएको बताउँछन् ।

‘ओली नै अबको अध्यक्ष हुने १०० प्रतिशत छ । अहिले नै सर्वसम्मत चाहिँ भनी नहालौं किनकि कुनै व्यक्तिलाई चित्त बुझेन भने उठ्न त पाउँछ नि,’ गुरुङले भने ।

३३ प्रतिशत महिला सदस्य सुनिश्चित गर्ने बताएको एमालेले २ सय २५ मध्ये ७० बढी केन्द्रीय सदस्य महिलालाई स्थान दिनुपर्नेछ ।

यो समाचार राजधानी दैनिकमा छ ।