Tue Jan 18 2022
देश

क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता, समूहगत प्रतिस्पर्धा

ओखलढुंगा– नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।

दुई चरणमा हुने निर्वाचनअन्तर्गत पहिलो चरणमा निर्वाचन क्षेत्रस्तरीय समिति र प्रदेश प्रतिनिधि चयन हुनेछन् । शनिबार प्रदेश प्रतिनिधि र क्षेत्रीय समिति निर्वाचनका लागि मनोनयन दर्ता भएको निर्वाचन अधिकृत खिलाराज श्रेष्ठले बताए ।

उनकाअनुसार प्रदेश निर्वाचन क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता भइसकेको छ । क्षेत्र १ ‘क’ मा ४९ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने क्षेत्र १ ‘ख’ मा ५० जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

संस्थापन समूह र कोइराला समूहबाट प्यानलै उम्मेदवारी दर्ता भएको, दाबी विरोध पनि नभएको र आइतबार निर्वाचन हुने श्रेष्ठले बताए ।

क्षेत्रीय समितिमा सभापतिसहित उपसभापति, सचिव र सहसचिव २/२ जना र १७ सदस्य तथा प्रदेश प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ । दुवै समूहले समूहगत प्रतिस्पर्धा गर्ने अभ्यास थालेका छन् ।

जिल्ला तहमा पनि फरक फरक प्यालनको उम्मेदवारी दर्ता हुने नेताहरुले बताएका छन् । १ हजार ४४३ प्रतिनिधिले क्षेत्र, जिल्लाको समिति तथा प्रदेश र संघीय महाधिवेशनका लागि १४ र १० जना प्रतिनिधि निर्वाचित गर्नेछ । दुवै समूहबीच तीव्र प्रतिस्पर्धा छ ।