बुटवल । बुटवलमा कक्षा १२ का एक विद्यार्थीले पेट्रोलबिना चल्ने विद्युतीय मोटरसाइकल बनाएर चकित बताएका छन् ।
बुटवल देवीनगरको नवीन औद्योगिक माविमा सिभिल ओभरसियर विषय पढ्दै गरेका सागर पोखरेलले कन्ट्रोलर म्यानेजमेन्ट सिस्टम प्रयोग गरेर विद्युतीय मोटरसाइकल बनाएका हुन् ।
४८ भोल्टको लिड एसिड ब्याट्री र ७ सय ५० वाटको मोटरका माध्यमबाट चल्ने मोटरसाइकल प्रतिघण्टा ४५ देखि ५० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने १८ वर्षीय पोखरेलले बताए ।
उनका अनुसार १२ भोल्टको ब्याट्रीमा ३२.५ एम्पियर सिरिज कन्भर्ट गरेर ४८ भोल्टको हो ।
एकपटक चार्ज गरेपछि मोटरसाइकल एक सय किलोमिटर गुड्न सक्ने सागरले बताए ।
मोटरसाइकलको विशेषता भनेको ब्याक गियर र तीनथरि ब्रेकको भएको सागरले बताए ।
उकालो सडकमा ब्याक गियर उपयोगी हुने उनको भनाइ छ । मोटरसाइकलमा भएको ई ब्रेकिङले दुर्घटनाबाट जोगाउने सागरले दावी गरे ।
लिड एसिड ब्याट्री तीन वर्षसम्म टिक्ने र लिथेयम ब्याट्री प्रयोग गरेमा ६ वर्षसम्म टिक्ने उनले बताए ।
राज्यका सम्बन्धित निकायले सहयोग गरेमा व्यवसायिक रुपमा विद्युतीय मोटरसाइकल स्वदेशमै बनाउन सकिने सागरको विश्वास छ ।
विद्युतीय मोटरसाइकल बनाएर नमूना काम गरेको भन्दै नवीन औद्योगिक माविले सागरलाई ५० हजार रुपैयाँ नगदसहित सोमबार सम्मान गरेको छ ।
विद्यालयका प्रधानाध्यापक प्रेम बस्नेतले सागर नवीन सोचका प्रतिभाशाली विद्यार्थी भएको भन्दै उनलाई प्रोत्साहनको खाँचो रहेको बताएका छन् ।